तेहरान । इरानमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ संक्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ संक्रमितको संख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ संक्रमितको मृत्यु भएको बताए ।
आइतवार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा संक्रमितको संख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना संक्रमित भएको उल्लेख छ ।
इरानमा अहिलेसम्म निको हुने व्यक्तिको संख्या चार लाख छ हजारभन्दा बढी रहेको र चार हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ ।
हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड–१९ संक्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गरे ।
इरानमा पहिलो कोभिड–१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो । इरान र चीनबीच संक्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ ।
Discussion about this post