काठमाडौं । गत अंग्रेजी वर्षको डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ को सन्त्रासले सिंगो विश्व जकडिएको छ । कोरोनाको कहरका बीच नेपालीहरुको महान् पर्वहरु नजिकिएको छ । तर पहिलो ‘केस’ शुरु भएको ९ महिनापछि पछिल्लो एक सातादेखि संक्रमितको संख्याले नयाँ ‘रेकर्ड’ राखिरहेको छ । मृतकहरु थपिइरहेका छन् ।
करिब ३ महिना लामो लकडाउनमा थुनिएका मानिस आ – आफ्ना तरीकाले विभिन्न सुरक्षा मापदण्ड अपनाउँदै काममा फर्केको यो अवस्थामा देखिएको कोरोना संक्रमितको यो संख्याले सबैलाई नराम्ररी झस्काएको छ । पछिल्लो तथ्याङ्क केलाउने हो भने जति धेरै परिक्षण उति धेरै संक्रमित पुष्टि भइरहेका छन् ।
यसैबीच अहिले बजारमा चलिरहेको एउटा प्रश्न छ – ‘के फेरि लकडाउन हुँदैछ ?’ के विभिन्न समाचारमा जनाईएजस्तै फेरि पनि काठमाडौं उपत्यकासँग जोडिएका विभिन्न नाकामा आवतजावत कडाई हुँदैछ ?’
हुन त यसबारेमा आधिकारीक निर्णय आईसकेको छैन । केही समय अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पहिलेजस्तो लकडाउन नहुने बताएको थियो । तर ह्वात्तै बढेको कोरोना संक्रमतिको यो संख्याले सरकार फेरि एकपटक लकडाउन गर्ने र कडाईका साथ लागू गर्ने मनस्थितीमा पुगेको छ ।
हिजो (सोमबार) मात्रै दशैँ तिहार र छठको समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिईसकेको छ ।
गत भदौ ९ गते गठित प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले काठमाडौं उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस ‘कोभिड-१९’ को महामारी थप भयावह हुने चेतावनी दिँदै यस्तो सुझाव दिएको हो ।
शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ भएर देखा परेको तथ्याङ्क प्रस्तुत गर्दै कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि अब (काठमाडौं, भक्तपुर र ललितपुर) यी घना बस्तीका समुदायसम्मै फैलिसकेको कोरोना र यो संक्रमण बाहिर नजाओस् भन्नेमा ध्यान दिन ढीलाई गर्न नहुने समितिको निष्कर्ष छ ।
अहिले काठमाडौं उपत्यकामा दैनिक रुपमा देशभर थपिएका संक्रमितको आधा बढी संक्रमित पुष्टि भएका छन् ।
घना बस्ती, आईसोलेसनको समस्या लगायतका कारणले पनि कोरोना नसोचेको तरीकाले फैलिरहेको छ ।
समितीका एकजना सदस्य भन्छन्, “पहिला अन्य जिल्लाहरुबाट कोरोनाको संक्रमण काठमाडौंमा फैलन्छ कि भनने डर थियो अहिले काठमाडौंबाट बाहिरी जिल्लामा संक्रमण फैलन्छ भन्ने डर छ ।”
विशेषगरी रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं वा उपत्यकाका अनय जिल्ला वा घना बस्ती भएका र कोरोना व्यापक रुपमा फैलिएका शहरबाट दशैँको टिका/आशिर्वाद थाप्न आफ्ना जिल्लाहरु र गाउँहरुमा पुग्नेले गाउँघरमा र समुदायस्तरमा कोरोना फैलाउँछन् भन्नेमा सचेत हुँदै यस्ते निर्णय लिनुपर्ने समितीको निष्कर्ष छ ।
हाल नेपालमा ३५ हजार ९ सय १५ जना संक्रमित उपचाररत छन् । तिमध्ये १५ हजार ४८ जना संस्थागत आईसोलेसनमा छन् भने २० हजार ८ सय ६७ जना होम आईसोलेसनमा छन् । होम आईसोलेसनमा बसेकाहरुको लागि कुनै किसीमको सहजता नभएका कारण पनि संक्रमण अझ तिव्र दरमा फैलिरहेको छ ।
हालको अवस्थामा ३०७ जना आईसीयूमा र ६६ जना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटर पर्याप्त भएको बताएको भएतापनि संक्रमितहरु बेड नपाएको र अप्ठेरो स्थितीमा समेत उचित समन्वय नभएको बताउँछन् ।
यस्तो विषम परिस्थितीमा कोारोना संक्रमित बढ्ने हो भने स्थिती नियन्त्रणबाहिर जाने विज्ञको सुझाव छ । जनस्वास्थ्यविद्ले पनि दशैँ /तिहारको बीचमा उपत्यकाको ‘बोर्डर सिल’ गर्न सुझाएका छन् ।
उपसमितिले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा गई कोरोना भाइरस ‘कोभिड – १९’ को महामारी रोकथाममा सरकारले गरेको कामको अनुगमन गरी प्रतिवेदन तयार पारेको थियो ।
सो प्रतिवेदनमा उपत्यकाबाहिर कोरोनालाई निकै हेलचेक्र्याईं गरिएको, सतर्कता नअपनाइएको, स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाईएका, सरकारी कार्यालयमा भीड लागेको, कोभिडको प्रभाव नभएको जस्तो पाईएको, करिब १० प्रतिशत मान्छेले मात्रै मास्क प्रयोग गरेको, प्रदेश र स्थानीय तहबीचमा असमझदारी देखिएको लगायतका विषय उल्लेख गरेको छ ।
उपसमितीको यो निष्कर्ष र सुझावलाई हेर्दा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले फेरि पनि लकडाउनको नीति लिनसक्ने देखिन्छ ।
तर स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार लकडाउन गर्ने विषय राजनीतिक निर्णय भएको कारण यसै भन्न सकिँदैन । तर आवतजावतमा कडाई गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
केही सांसदहरुले दशैँ तिहारको १०–१५ दिन काठमाडौं ठप्पै पार्ने प्रस्ताव पनि गरेका छन् भने कतिपय स्थानिय तहले दशैँमा घर गए अनिवार्य १४ दिन क्वारेन्टाईन बस्नुपर्ने नियम बनाएका छन् । कतिपयले दशैँ मान्न गाउँ फर्किने भए ५०० बढी संक्रमित भएका जिल्लाहरुबाट जानेलाई असोज ३० भित्र घर आउन अनुरोध गरेका छन् ।
Discussion about this post