वासिङ्टन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
कुल संक्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना संक्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।
संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।
अमेरिकामा भने संक्रमितहरुको अवस्था डरलाग्दो छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ ।
अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना संक्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
धेरै प्रभावित भएकाहरुको सूचीमा भारत र ब्राजिल दोस्रो र तेस्रो क्रममा रहेका छन् । भारतमा अहिलेसम्म ७१ लाख ७५ हजार ८८० जना संक्रमित हुँदासम्म एक लाख नौ हजार ८५६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख तीन हजार ४०८ जना संक्रमित रहेका छन् भने एक लाख ५० हजार ६८९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
त्यसैगरी चौथो धेरै प्रभावित भएको रुसमा भने अहिलेसम्म १३ लाख १८ हजार ७८३ जना संक्रमित भएका छन् । रुसमा कोरोनाका कारण २२ हजार ८३४ जनाको ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।
Discussion about this post