काठमाडौं । कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् ।
सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएका हुन् ।
‘दसैंमा घटस्थापनादेखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सुझाव आएका छन् । कुनै निर्णय भइसकेको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘संक्रमणलाई रोक्न त्यो पनि एउटा विकल्प छ ।’
सचिवहरूले लामो बिदाको माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचि देखाएका छैनन् । संक्रमणको यस्तो अवस्था कति लामो समय जान्छ भन्ने यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधानमन्त्रीको भनाइ छ ।
एक मन्त्रीका अनुसार विगतमा जस्तै नियमित रूपमा नै कार्यालय सञ्चालन गर्ने तर चाडपर्वका बेला धेरै काम गर्नुपर्ने अवस्था नहुने भएकाले थोरै कर्मचारीलाई प्रयोग गर्न सकिने बुझाइ प्रधानमन्त्रीको छ ।
कम कर्मचारीबाट काम गराउने, कार्यालयहरूमा सामाजिक दूरी र स्वास्थ्य अनुशासन राम्ररी पालना गर्ने विधिलाई अझ प्रभावकारी बनाउनुपर्ने पक्षमा उनी छन् ।
Discussion about this post