काठमाडौं । बुधवार दिउँसो सर्लाहीमा प्रहरी र नेपाली कांग्रेसका नेता कार्यकर्ताबीच झडप हुँदा डिएसपीसहित ३२ जना प्रहरी र १० जना प्रदर्शनकारी घाइते भएका छन् ।
आफ्नो कार्यकर्ता महेन्द्र रामको हत्यारालाई कारबाही गर्न माग गर्दै सामान्य र्याली गर्दै आएका उनीहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा एक्कासी ढुंगामुढा प्रहार गरेका थिए ।
हातमा लाठी र झाडु बोकेर आएका उनीहरुले अचानक जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगा मुढा गर्न थालेपछि अवस्था असामान्य भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले लोकपथलाई बताए ।
कुँवरका अनुसार शुरुमा प्रहरीले उनीहरुलाई सम्झाउने कोसिस गर्दापनि उनीहरुले आक्रमण गर्न थालेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । “उनीहरु एक्कासी नाराबाजी गर्दै आए र प्रहरी कार्यालयमा क्षति पुर्याउने कोसिस गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्न बाध्य भयो । ” लोकपथसँगको कुराकानीमा प्रवक्ता कुँवरले बताए ।
घटनाका क्रममा २२ जना जनपथ प्रहरी र १० जना शसस्त्र प्रहरी घाइते भएका छन् ।
उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै प्रदर्शन गर्दै आएका थिए ।
गत असोज २२ गते कुटपिटबाट ६० वर्षीय रामको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले सत्तारुढ नेकपाले हत्या गरेको आरोप लगाएका छन् ।
Discussion about this post