काठमाडौँ : आश्विन महिनामा पुरुषाेत्तम मास परेकाले यस वर्ष ढिला गरि नवरात्र प्रारम्भ भएकाे हाे । कार्तिक १ गतेबाट प्रारम्भ भएकाे बढा दशै कार्तिक १० बिहान देवी विसर्जन गरेपछि समापन हुनेछ । दुर्गा विसर्जन गरेपछि नाै दिनसम्म गरिएको देवीकाे पुजाकाे प्रसादका रुपमा टीका, जमरा लगाउने विधान शास्त्रमा उल्लेख गरिएको छ । पूर्णिमा सम्मपनि दुर्गा पक्ष रहिरहने भएकाले टीका जमरा लगाउने परम्परा रहिआएको छ । आज नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जानकारी गराएकाे छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिले जानकारी गराएकाे । विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने र दिन भरि नै शुभ समय रहने उल्लेख गरेकाे छ ।

विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले कुनै पनि शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने या सन्मुख पार्नु पर्ने नियम रहिआएको छ। टीका लगाइमाग्ने मानिस पश्चिम र टीका लगाइदिनेले भने पूर्व फर्केर बसेमा चन्द्रमा मिल्ने छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसरी लगाउन पर्ने भएकाे हाे ।

घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । टीका लगाइदिदा आशीर्वाद मन्त्र द्वारा दिईने भएकाले यी मन्त्र हरु पढ्नुपर्ने नियम रहेकाे छ । आयूद्र्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

सौर्यं शान्तनवं बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामले जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानझैँ गतिशील, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्ण जस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

(लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन । )

प्रतिक्रिया!!

सम्बन्धित खबर