काठमाडौँ । नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत रहेको गौतमले बताए। ‘कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दसैँ समाप्त हुन्छ।
महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ ।
चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले शनिबार परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि शनिबारदेखि नै शुरु हुनेछ ।
Discussion about this post