काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति निकालेर तत्कालै पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह गरकेा हुन् ।
नेतृत्वबाट दिनहुँजसो गालीगलौज, आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको भन्दै बोहराले यो निकै चिन्ताको विषय रहेको बताएका छन् । उनले नेतृत्वलाई विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान गरेको स्मरण गराएका छन् ।
पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ ।
अहिले नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी नै समस्यामा परेको भन्दै अध्यक्ष बोहराले उत्तेजना र गालीगलौजले समस्या समाधान नहुने बताएका छन् ।
पछिल्लाे समय नेकपामा विवाद चुलिँदै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कहिले बैठक राख्ने भन्ने सहमती भएकाे छैन।
Discussion about this post