काठमाडौँ : कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् । चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् ।
सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार पर्वको समयमा विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी सावधानी अपनाउन आवश्यक छ ।
‘बच्चाहरू शंकास्पद संक्रमित र जोखिम वर्ग दुवैसँग घुलमिल हुन्छन्,’ उनले भने, ‘संक्रमणका हिसाबले बालबालिका त्यति जोखिममा छैनन् तर उनीहरूले एकबाट अर्कामा सजिलै रोग सार्ने भएकाले धेरै घुलमिल नगर्दा राम्रो ।’ देउसीभैलो नखेल्न र टीका लगाउन नातेदारकहाँ नजानसमेत उनले युवा र बालबालिकालाई आग्रह गरे, ‘यसपालि जहाँ छौं, त्यहीं बसेर सावधानीसाथ तिहार मनाऔं ।’ संक्रमणको समयमा खानपानमा समेत ध्यान दिनुपर्ने उनले बताए ।
‘भाइरसमुक्त भए पनि शरीर पहिले जस्तो हुँदैन, जुनसुकै अंगमा असर गरेको हुन सक्छ,’ डा. बाँस्तोलाले भने, ‘यस्तो बेलामा मद्यपान र धूमपानले ती अंग थप बिगार्न सक्छ, अन्य खानेकुरा भने बार्न जरुरी छैन ।’
जनस्वास्थ्यविद् डा. समीरमणि अधिकारीले संक्रमणको समयमा तिहारलाई फरक तरिकाले मनाउन सुझाए ।
Discussion about this post