जनकपुरधाम : आस्था एवं श्रद्धाको पर्व छठ पर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज पहिलो दिन नहाई खाई/अरबा अरबाइन गरिदैंछ । यसदिन व्रतालुहरुले नुहाई धुआई शुद्ध भई चोखो (अरबा चामलको भात) खाने गर्छन् ।
यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् भने छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेको भुसुवा (चामल पिठोको सक्खर मिश्रित लड्डू) र ठकुवाका लागि चामल तथा गहुँ धोएर सुखाउने कार्य गर्दछन् ।
व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् ।
छठको दोश्रो दिन पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निराहार उपवासमा बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् ।
प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमा र बितेका पूर्वजलाई प्रसाद सामाग्री खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।
Discussion about this post