धादिङ, ३ मङ्सिर (मधेश टप):- नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति तथा राष्ट्रिय समाचार समिति (रासस) का धादिङ समाचारदाता सीतारामप्रसाद बर्माको निधन भएको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनको आयोजनामा सम्पन्न श्रद्धाञ्जलिसभामा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बर्माको नाममा स्मृतिस्वरुप पत्रकारिता पुरस्कार स्थापना गर्न सहयोग गर्ने बताउँँदै देशले चिनेको पत्रकार बर्मालाई आफूले चिनाउन योगदान गर्ने बताउनुभयो । कार्यक्रममा महासङ्घ वाग्मती प्रदेशका कोषाध्यक्ष सीताराम अधिकारी, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य केशव अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्य मुरारी अधिकारीले पत्रकारिता क्षेत्रमा स्व. बर्माले पु¥याउनुभएको महत्वपूर्ण योगदानमाथि प्रकाश पार्नुभयो ।
कात्तिक २१ गते उपचारका क्रममा ७९ वर्षका उमेरमा पत्रकार बर्माको निधन भएको थियो । निमोनिया, उच्च रक्तचाप र मधुमेहका बिरामी बर्मा कोरोना भाइरस सङ्क्रमणबाट निको भएर उपचार गराउँदै गरेको अवस्थामा किष्ट मेडिकल कलेज ग्वार्काे ललितपुरमा उहाँको निधन भएको थियो । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्मा प्रेस युनियन धादिङकासमेत संस्थापक हुनुहुन्थ्यो । बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाइसक्नुभएको थियो । करिब तीन दशकदेखि राससमा कार्यरत उहाँ राससबाट पनि सम्मानित हुनुभएको थियो । गोरखा पुख्र्याैली थलो भई धादिङलाई कर्मथलो बनाउनुभएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । लेखापढी व्यवसायी सङ्घ धादिङ, नीलकण्ठ सहकारीलगायत जिल्लास्थित नागरिक अधिकारसँग सम्बन्धित एक दर्जन संस्थामा उहाँ आबद्ध हुनुभएको बर्माका बुहारी भवानी बर्माले जानकारी दिनुभएको छ । धादिङका पुराना पत्रकार बर्माको स्मृतिमा स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न नेपाल पत्रकार महासङ्घले अगुवाइ गर्ने जनाएको छ ।
Discussion about this post