काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका किशोर प्रधानले आफूले महासंघ अध्यक्षको हैसियत राज्यमन्त्री सरह बनाएरै छाड्ने उद्घोष गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानले आफू महासंघको नेतृत्वमा पुगे अध्यक्षको हैसियत राज्यमन्त्री र जिल्ला अध्यक्षहरूको हैसियत सांसद बराबर बनाउने बताए ।
राज्यले करदातालाई वडासदस्यको बराबर पनि हैसियत नदिने गरेको गुनासो पोखे । “अन्य विकसित मुलुकमा करदातालाई राज्यले उच्च सम्मान प्रदान गरेको पाइन्छ,” उनले थपे, “तर, नेपालमा उद्योगी व्यवसायी अर्थात् करदातालाई राज्यले सम्मान दिन जानेको छैन । म वरिष्ठ उपाध्यक्ष भएँ भने भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा करदातालाई उच्च हैसियतमा पु¥याउनेछु ।”
यसैबीच, महासंघको प्रधान समूहको जितले मात्रै आगामी आउने नेतृत्वलाई सफल बनाउने उद्योगी व्यवसायीहरूको भनाइ छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने महासंघको विधानले गरेको व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्दैछन् । बाँकी पदहरूमा चुनाव हुँदैछ ।
वरिष्ठ उपाध्यक्षका लागि प्रधानसँग वर्तमान उपाध्यक्ष चन्द्र ढकाल भीड्दैछन् । प्रधान पनि वर्तमान उपाध्यक्ष हुन् । प्रधान उद्योग संगठन मोरङ, पूर्वाञ्चल उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी महासंघमा अढाई दशकभन्दा लामो समयदेखि सक्रिय छन् ।
महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । अझै पनि केही पूर्वअध्यक्षहरू सहमतिको प्रयासमा रहेको बताइएको छ । महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।
Discussion about this post