काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आर्थिक बर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ ।
महाशाखाको पिडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको विभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान सञ्चालन गरिरहेको छ ।
महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरि सम्बन्धित धनिलाई जिम्मा दिएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले “बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएका छौ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको छ, त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरि सुचना संकलन गर्ने काम समेत भैरहेको” बताए ।
आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने वर्ष २५ का सुजन तामाङ्गलाई वास्तबिक नम्बर प्र. ३ ०२ ००१ प ९०४१ भइ प्र ३ ०२ ००३ प ६५०६ नंम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सर सहित पक्राउ गरि आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत्त मालीगाँउ पठाएको छ । उक्त मोटरसाईकल काठमाण्डौं स्थित सेतोपुलदेखि दश दिन अघि मात्र हराएको थियो ।
विशेषगरी काठमाण्डौँका सार्वजनिक स्थल र एकान्तमा पार्किङ गरी राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । सवारी धनिहरुले अतिरिक्त लक एव सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको देखिन्छ ।
मोटरसाईकल चोरी भएर उपत्यकामा नै किनबेच भएका र मोटरसाइकल चोरले नै नम्बर प्लेट परिवर्तन तथा सरसामान पार्टपुर्जा फेरेर नचिनिने गरि चलाउने गरेको पाइन्छ । त्यस्ता मोटरसाइकलहरुलाई बिशेष संकेतको आधारमा पहिचान गरि पक्राउ गरिने गरेको महाशाखाले बताएको छ ।
प्रहरी निरीक्षक जितेश दाहालले “हामीले पक्राउ गर्दा कतिपय अवस्थामा सम्बन्धित चालकलाई उसले चलाएको मोटरसाईकल चोरीको हो भन्ने समेत थाहा हुँदैन, धेरै घटनामा सस्तोमा किनेको र पछि नामसारी गर्ने भनी अग्रिम केहि पैसा दिने गरेको भेटिन्छ।”
अधिकांश चोरी भएका मोटरसाईकलहरुको बास्तबिक नम्बर परिबर्तन गरेको पाईन्छ भने कतिपय पक्राउ परेका मोटरसाईकलको नक्कली ब्लुबुक समेत हुनेगरेको भएको दाहालले बताए ।
केहि दिन अघि मात्रै नुवाकोटका दिनेश तामाङ्ग र राजाराम तामाङ्गलाई चोरीको मोटरसाईकल सहित टोखाबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी वृत्त कालीमाटी पठाइएको प्रहरीले जनाएको छ भने यहि असोज १६ गते नयाँ बजारबाट हराएको बा ९५ प ४८४ नं को २२० सिसिको कालो रातो पल्सर सहित काभ्रेका सन्त लामा र समिर लामालाई कालीमाटीबाट पक्राउ गरि वृत्त सोह्रखुट्टेमा आबश्यक कारबाहीको लागी पठाइएको महाशाखाले जानकारी दिएको छ ।
सवारी साधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, अर्लाम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न समेत महाशाखाको अनुरोध गरेको छ ।
Discussion about this post