मधेश टप डेस्क, जनकपुरधाम : कोरोना भाइरस महामारीले जानकी मन्दिरमा प्रत्येक वर्ष धुमधामकासाथ हुँदै आएको विवाहपञ्चमी प्रभावित हुने भएको छ ।
प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुने विवाहपञ्चमीमा भने यसवर्ष अहिलेसम्म पनि कुनै रौनकता देखिएको छैन् । जबकी विवाहपञ्चमी आउन एक साता मात्र बाँकी छ ।
अगामी पुस ४ गते शनिबार विवाहपञ्चमी परेको छ । नेपाल–भारत सीमा बन्द भएका कारण भारतीय श्रद्धालु र जन्ती आउने सम्भावना नरहेको उनको भनाइ छ ।
भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।
यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।
यस पटकको विवा पञ्चमीमा भारतबाट जन्तीसमेत नआउने जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए । ‘कोरोना भाइरसको संक्रमण कायमै रहेकाले यस पटक विवाह पञ्चमीको अवसरमा कुनै उत्सव गरिएको छैन,’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले भने, ‘विधि पुर्याउने काम मात्रै हुन्छ ।’
जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरुमा पहिला नै जानकारी आउने गरिन्थ्यो । तर यस पटक भारतको अयोध्याबाट कुनै खबर नआएको उनले बताए ।
Discussion about this post