जनकपुरधाम : पिछाडावर्ग ओबिसी महासभाले एकैदिन देशको ११ वटा जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्राललाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने मागसिहतको ज्ञापनपत्र बुझाएको छ । गत मंसिर २० गते पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय विस्तारित बैठकको निर्णयअनुसार आइतबार देशको ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता प्रदान गर्नुपर्ने मागसिहतको ज्ञापनपत्र गृहमन्त्रालय सिंहदरबार काठमाडौंलाई बुझाएका हुन् ।

पिछडावर्ग ओबिसी महासभाका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले प्रदेश १ को झापा, मोरङ्ग, सुनसरी र प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका जिल्ला प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएको बताए । ज्ञापनपत्रमा गृहमन्त्रालयको निर्देशनअनुसार प्रदान गरिएको जन्मसिद्ध नागरिकता प्राप्त नागरिकको सन्तानलाई बर्षौदेखि नागरिकताबाट बञ्चित गरेर नेपालको संविधान २०७२ को भाग ३ को दफा १६ मा उल्लेख भएअनुसार सम्मानपूर्वक बाँच्न पाउने अधिकार समेत खोसिएको जनाइएको छ । सरकारले विभिन्न बहाना बनाएर लाखौं नागरिकलाई नागरिक विहिन बनाई राज्यबाट पाउनुपर्ने अधिकारबाट बञ्चित गरेकोले सरकारलाई ध्यानाकर्षण गराउन यो ज्ञापनपत्र छ ।

ज्ञापनपत्र बुझाएको मितिले एक हप्ताभित्र जायज मागलाई सम्बोधन नगरे तथा पिछडावर्गले उठाएको जायज मागलाई सरकारले वेवास्ता गरे चरणबद्ध सशक्त आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।