काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो । राति आकाश छ्याङ्ग खुलेकाले चिसो बढेको उनले बताइन्। हिजो काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो ।
तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् । आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।
बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ । आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ ।
पहाडी क्षेत्रको मौसम आज सफा रहे पनि तराईका क्षेत्रमा भने हुस्सु–कुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार आज प्रदेश १ र २ मा आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ । बिहानदेखि दिनभरिसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन मौसमविद्को सुझाव छ ।
Discussion about this post