जनकपुरधाम : मिथिलाको चर्चित र लोकप्रिय उत्सव विवाह पञ्चमीको रौनक यस पटक घटेको छ ।
प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने यो महोत्सवको अवसरमा यस पटक न चहल-पहल छ न त उत्साह नै । यसको सिधा कारण हो कोरोना कहर । अन्य वर्षमा विवाह पञ्चमी सुरु हुनुभन्दा अगावै जनकपुरधाम श्रद्धालु भक्तजनहरु भीडले भरिभराउ हुन्थ्यो भने यस वर्ष भने छैन । महोत्व आउन ४ दिन बाँकी रहँदा जनकपुरधाम सुनसान देखिएको छ ।
भारत लगायत अन्य स्थानहरुबाट आउने श्रद्धालुहरु समेत यस वर्ष यहाँ देखिएका छैनन् । अन्य वर्षहरुमा बाहिरबाट आउने साधुसन्त तथा श्रद्धालुहरुको बासका लागि विभिन्न स्थानमा ठूलठूला पण्डालहरु लगाइन्थ्यो । तर यसपटक भने जनकपुरधामको कुनै स्थानमा त्यस्ता पण्डाल लगाइएको छैन ।
७ दिनसम्म मनाइदै आएको महोत्सवका लागि सातै दिनको विधि मनाउनका लागि सम्पूर्ण तयारी गरिन्थ्यो । जसमा जानकी मन्दिरका महन्थदेखि, साधु सन्त तथा श्रद्धालु भक्तजन र स्थानीयबासीहरुको सहभागिता रहन्थ्यो । यस वर्ष जारी विवाहपञ्चमी महोेत्सवमा न साधु सन्तको सहभागिता देखिन्छ न त स्थानीयबासीको नै ।
यद्यपी जानकी मन्दिरको प्राङ्गणमा पण्डाल लगाइएको छ । जहाँ प्रत्येक दिन साँझ रामलिला मञ्चन गरिन्छ । सो मञ्चमै विवाहपञ्चमी महोत्सवको सातै दिन विधिका लागि झाँकी प्रदर्शन गर्ने तयारी गरिएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिए ।
महन्थ दासले भने,‘अन्य वर्षमा जे जे विधि हुन्थ्यो सबै त हुन्छ नै, श्रद्धालु भक्तजनहरुको सहभागिता रहन्छ नै तर भीड नगर्न प्रशासनले पटक पटक भनेपछि त्यो भव्यता दिन सकिएको छैन ।’ उनका अनुसार कुनै समय एक महिनासम्म चल्ने विवाहपञ्चमी महोत्सव एक दिनमै सीमित भएको थियो । तर फेरी पहल भएपछि २०६३ सालदेखि सप्ताहव्यापी रुपमा महोत्सव मनाउन लागिएको हो । जसमा भारतीय हजारौँ श्रद्धालुहरुको सहभागिता हुने गथ्र्यो । तर यस वर्ष भने सीमा नाका बन्द भएका कारण अयोध्यामा समेत निमन्त्रणा पठाउन नसकिएको महन्थ दासको भनाई छ ।
उनले भने,‘यस वर्ष राम मन्दिरकै साधुुसन्तहरुलाई सहभागी गराएर सम्पूर्ण विधि पूरा गर्ने योजना रहेको छ ।’ कोरोना संक्रमणको त्रास रहेको र स्थानीय प्रशासनले पनि भीडभाड नगर्न भनेकाले महोत्सवमा सहभागी हुन अयोध्या लगायतबाट अतिथिलाई आमन्त्रित नगरिएको हो ।
प्रत्येक वर्ष महोत्सवमा सहभागिताका लागि मंसिर शुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरूको जन्तीको डफ्फा नै जनकपुरधाम आउँथे । अयोध्याबाट आउने जन्ती समूहलाई मिथिलाबासीले नेपाली सीमाहरु मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य स्वागत गर्थे तर यस वर्ष भने कोरोनाले यी सबै कार्यक्रमहरु प्रभावित भएको छ ।
जनकपुरधाममा हरेक वर्ष राम जानकी विवाहको सम्झनामा मनाइने विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइने गरिन्छ । तर यस वर्ष भने कोरोना महामारीको अवस्थालाई दृष्टिगत गर्दै सबै धार्मिक विधि र कार्यक्रमलाई औपचारिकतामा मात्र सिमित गरिएको छ ।
Discussion about this post