काठमाडौं : प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमति जनाएका छन् ।
नेकपाका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न सहमत भएका हुन् ।
नेकपा भित्रको विवादका बीच ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै जारी गरेकी थिइन् ।
अध्यादेश जारी हुनासाथ प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका थिए । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्नुपर्ने बताएका थिए ।
नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् ।
त्यस्तै २८ गते पनि ओलीले बोलाएको बैठकमा सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका थिएनन् ।
Discussion about this post