काठमाडौं : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटनको घटनालाई ‘अन्तरध्वंशी’को संज्ञा दिएका छन् । उनले लोकतान्त्रिक संविधानको बर्खिलाप प्रधानमन्त्रीले संसद विघटन गरेको टिप्पणी गरे ।
उपसभापति निधिले द नेपालटपसँग कुरा गर्दै भने,‘संसद विघटन गरेर प्रधानमन्त्रीले सरकार सञ्चालन गर्न आफू असक्षम, अलोकप्रिय, र अप्रजातान्त्रिक भएको प्रमाणित गरे ।’ सरकार र सरकारको नेतृत्व गर्ने पार्टी नेकपा पनि संविधान, गणतन्त्र, संघीयता र लोकतान्त्र प्रति इमान्दार नभएको भन्ने कुरा आज पुनर्पुष्टि भएको उल्लेख गर्दै निधिले भने, नेकपाको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद विघटन गरेका हुन ।’
गत चुनावमा स्थिरता, विकास र प्रगतिको पक्षमा जनताले नेकपालाई मत दिए पनि संसद विघटनबाट त्यो कुरा गलत रहेछ भन्ने प्रमाणित भएको उनले तर्क गरे ।
कम्युनिष्ट गणतन्त्र, संघीयता र लोकतन्त्र प्रति कहिले पनि इमान्दार रहन्न भन्ने कुरा काँग्रेसले पहिलादेखि नै भन्दै आएको चर्चा गर्दै उपसभापति निधीले काँग्रेसले भनिरहेको कुरा आज सहि भएको दाबी गरे ।
उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस सदर गर्ने राष्ट्रपतिको भूमिकाप्रति पनि प्रश्न उठाए । ‘राष्ट्रपतिको कदम अत्यन्त आपत्तिजनक छ, उनले सहि निर्णय लिन सकिनन्,’ निधीले भने ।
उनका अनुसार देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा काँगेस छलफल गरी निर्णय लिनेछ ।
Discussion about this post