काठमाडौँ : नेपाल बैंक लिमिटेडको ६१ औं वार्षिक साधारण सभाबाट चार प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

बैंकको  सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा आज सम्पन्न साधारण सभाले हालको चुक्ता पूँजी रु.११,२८,२८,२०,२०० को ४  प्रतिशतका दरले हुन आउने रु.४५,१३,१२,८०८ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने रु.१,३५,३९,३८,४२४ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।

सभाले  साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१२,६३,६७,५८,६२४ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन्।