महोत्तरी : महोत्तरीको एक नगरपालिकाले घर बहाल नबुझाइ कार्यालय सारेपछि घरबेटी समस्यामा परेका छन्। महोत्तरीको मनरासिस्वा नगरपालिकाले बहालसहित विद्युत महसुल नबुझाइ घर खाली गरेपछि घरबेटी समस्यामा परेका हुन्।

नगरपालिका कार्यालयले घर बहालमा लिँदा आफूहरूसँग भएको सम्झौताविपरित बहाल नै नबुझाइ अन्यत्र सरेको घरबेटी सुरेश पाण्डेयका छोरा सुनिल पाण्डेयले बताएका छन्।

पाण्डेयका अनुसार नगरपालिका कार्यालयले एक महिनाको घर बहाल र विद्युत महसुलसमेत नतिरी अन्यत्र सरेको हो। 

सम्झौताअनुसार घर बहाल र विद्युत महसुल बुझाउन पटक–पटक भनेपनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जीत यादवले नटेरेको सुनिलले बताएका छन्।

नगरपालिकाले मासिक बहाल रकम ५५ हजार १ सय १६ र विद्युत महसुल २७ हजार १ सय १६ रूपैयाँ नबुझाइ घर खाली गरेर गएको उनको भनाइ छ।

घरबेटी र नगरपालिका कार्यालयबीच २०७६ साउन १ मा भएको सम्झौतामा घरको मासिक बहाल रकम ५५ हजार १ सय १६ रूपैयाँ र कार्यालयले उपयोग गरेको विद्युत तथा अन्य शुल्क कार्यालय स्वयंले बेहोर्ने भनेर उल्लेख छ।

साथै कार्यालयले घर छाड्न चाहेमा तीन महिनाको अग्रिम सूचना लिखित रूपमा घरधनीलाई दिनुपर्ने सम्झौता पत्रमा भनिएको छ। तर, नगरपालिका कार्यालयले साउन महिनामा घर छोड्दा सम्झौताअनुसार आफूहरूलाई कुनै जानकारी नै नगराएको सुनिलले बताए। 

कार्यालयले घर छोड्दा पूर्ववत अवस्थामा ल्याइ छोड्नुपर्ने सम्झौता रहेपनि कार्यालयले कार्य सञ्चालनका क्रममा गरेको तोडफोड र रंगरोगनका साथै मर्मत संभारलाई बेवास्ता गरेको उनको भनाइ छ।

नगरपालिका कार्यालयले बहाल तिर्न अटेर गरेपछि सुनिलले जिल्ला प्रशासन कार्यालय महोत्तरीमासमेत लिखित जानकारी गराएका छन्।

असोज १९ मै लिखित जानकारी गराउँदासमेत जिल्ला प्रशासन कार्यालयलेपनि खासै चासो नदेखाएको उनले बताए।

नगरपालिकाका मेयर संजयकुमार सिंहले घरभाडा लिने सम्झौता प्रशासकीय अधिकृतले गरेको हुँदा यसबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिएका छन्।

‘घर बहाल सँधै प्रशासकीय अधिकृतमार्फत बुझाइन्छ, बाँकी छ वा तिरिसकिएको छ मलाई थाहा भएन,’ उनले भने,‘आफूहरू निर्वाचित भएर आउनुअघि उहाँले नै घर बहालको सम्झौता गर्नुभएको छ।’

प्रमुख प्रशासकीय अधिकृत यादवसँग बुझ्न खोज्दा सम्पर्क हुनसकेन।