काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । चौधौं महाधिवेशनको नयाँ मिति तय गर्न कांग्रेसले पार्टी कार्यालय सानेपामा आज दिउँसो दुई बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
आजको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जनाए । गत वर्षको माघ १३ गते केन्द्रीय समितिले केन्द्रीय महाधिवेशनको मिति यहि फागुन ७ गतेदेखि १० गतेसम्मका लागि तोकेको थियो ।
१३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो । विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपिएको थियो ।
थपिएको कार्यकाल फागुन २० गते सकिँदैछ । त्यसपछि पनि कांग्रेसले संवैधानिक सुविधाअनुसार ६ महिना अवधि थप्न सक्छ । त्यो भनेको कांग्रेसको आयु २०७८ भदौसम्म कायम रहन्छ ।
भदौमा पनि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता सकिन्छ । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गर्ने तयारी गरेका छन् ।
Discussion about this post