जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले जिल्ला समन्वय समितिलाई पंगु बनाएको आरोप लगाउनुभएको छ । जिल्ला समन्वय समिति महासंघ प्रदेश २ ले आयोजना गरेको प्रदेशस्तरीय विस्तारित भेलालाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले संविधानले दिएको अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरेर जिल्ला समन्वय समितिहरुलाई कामविहीन बनाएको जिकिर गर्नुभयो । साबिकको जिविसलाई जिल्ला समन्वय समितिको नाउँमा व्युतायोे, उहाँले भन्नुभयो– तर काम दिएन् । संविधानको धारा २२० मा दिएको अधिकार समेत संघीय सरकारले पालना नगरेर जिल्ला समन्वय समितिलाई पंगु बनाएको मुख्यमन्त्री राउतको भनाई थियो ।

संविधानले दिएको अधिकार लिनको लागि जिल्ला समन्वय समिति महासंघलाई थप सक्रिय भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । दलमुखि भएर अधिकार पाइदैन, उहाँले भन्नुभयो–अधिकारको लागि सबैजना मिलेर अघि बढ्नुपर्छ ।संघीयता विरोधी मानसिकता भएकाहरु संविधानले दिएको अधिकारसमेत कटौती गर्नमा लागेको मुख्यमन्त्री राउतको भनाई थियो । प्रदेश २ ले जिल्ला समन्वय समितिलाई सबैभन्दा बढि अधिकार दिएको जिकिर गर्नुहुँदै उहाँले यसको लागि आलोचना समेत खेप्नुपरेको सुनाउनुभयो । संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेट र बालुवा गिट्टीबाट उठ्ने रोयल्टी जिल्ला समन्वय समितिमार्फत स्थानीय तहलाई वितरण हुनुपर्ने धारणा मुख्यमन्त्री राउतले राख्नुभयो ।जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिएर सक्रिय बनाउनुपर्ने मुख्यमन्त्री राउतले बताउनुभयो ।

एक फरक प्रसंगमा मुख्यमन्त्री राउतले सर्वोच्चको पैmसलाले संघीयतालाई थप बलियो बनाएको दावी गर्नुभयो । जिल्ला समन्वय समिति महासंघ प्रदेश २ का अध्यक्ष सुरेश प्रसाद सिंहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य रानी शर्मा लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा जनता समाजवादी पार्टी, नेपाल महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, बलवा नगरपालिकाका मेयर बिनोद यादव, एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साह उपस्थिति रहेको थियो