जनकपुरधाम : आन्तरिक विवादका कारण आज जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चुन्न सकेन । सिंहदरबारमा बसेको संसदीय दल बैठकमा नेता चयनको विषयमा सहमति हुन नसकेको हो ।

योसँगै संसदीय दलको नेताका लागि चुनाव हुने सम्भावना बढेको छ । यद्यपि, सहमतिको प्रयास जारी रहने सो पार्टीका नेताहरूले बताएका छन् । नयाँ सत्ता समीकरणमा निर्णायक शक्तिका रूपमा देखिएकाे जसपा आन्तरिक विवादका कारण अनिर्णित बनेकाे हाे ।   

यसअघि अस्ति बुधबार बसेको संसदीय दलको बैठकमै विधान र दलको नेता चयनको एजेण्डा भए पनि शुक्रबार मात्र यसमाथि छलफल सुरु भएको छ । सांसद् डा. सूर्यनारायण यादवले दलको नेताका लागि निर्वाचन हुने सम्भावना बढेको बताए । ‘सहमतिको प्रयास भएकै हो, भइरहेको पनि छ’, उनले शिलापत्रसँग भने, ‘सहमतिको प्रयास सफल नभएकाले अब चुनाव हुन सक्छ ।’

महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र महतो संसदीय दलको नेताका आकांक्षी हुन् ।

आजकाे बैठकमा संसदीय दलकाे विधानमाथि छलफल भएकाे र भाेलि यसलाई पारित गरिने सांसद प्रमिलाकुमारी यादवले जानकारी दिइन् ।