जनकपुरधाम : जनकपुरमा म्यागदीकी एक महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै सुतेकी महिला पाँचौ तल्लाबाट हाम फालेको वा खसालिएको अवस्थामा शव फेला परको हो ।

मृतक म्याग्दीको तत्कालीन बिम गाविस बस्ने ३० वर्षीया सृजना सुनार श्रीपाली रहेको प्रहरीले जनाएको छ ।

होटेल छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड भित्र आधा शरिर पानीमा र आधा बाहिर रहेको अवस्थामा उनको शव भेटिएको हो ।

प्रहरीका  अनुसार यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै उनी दुइदिन अघि जनकपुर आएर होटेलमा बसिरहेकी थिइन् ।

उनका श्रीमान विश्वास सिर्पालीले गएराति १२ बजे सँगै सुतेको र विहान करिब साढे तीनबजे बेडमा नदेखेपछि खोजतलास सुरु गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

‘खाना खाएर हामी राति १२ बजेसम्म गफगाफ गर्‍यौँ । लाइसेन्सको लिखित परिक्षाको विषयमा पढ्ने भनेर उनी कोठाबाहिर आएकी थिइन् । तर फेरि सँगै सुत्यौँ । साढे तीन बजे ब्युझिँदा मैले उसलाई देखिँन अनि खोज्न थालेँ,’ उनले भने ‘उसको ब्लड प्रेसर कम थियो । अनुहारतीर अलि प्यारालाइज पनि थिइन् । कतिखेर हाम फाल्यो मैले देखिनँ ।’

११ दिन पहिले आफू विदेशबाट फर्केको उनले प्रहरी समक्ष बताएका छन् । तर घटना शंकास्पद देखिएको भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएको छ ।