जनकपुरधाम : ख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई तालिम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिनु भएको छ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८÷७९को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्व तैयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमहरुले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने उल्लेख गर्नु हुँदै सो कुरा बताउनु भएको छ । उहाँले भन्नु भयो– ‘हामी जनमैत्री शासनको कामना गरेका छौ, त्यसकालाई कार्यालयहरुको व्यवस्थापन पनि अनिवार्य छ । हामीलाई भौतिक पूर्वाधारको निर्माणमा समेत जोड दिनु पर्दछ ।

’मुजेलिया स्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नका लागी अविलम्ब मास्टर प्लान बनाउन समेत उहाँले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भएको छ। उहाँले प्रदेश र स्थानीय तह बीचको सम्बन्धलाई सुमधुर बनाउदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरु तुर्जमा गर्नु पर्नेमा जोड दिनु भएको थियो । प्रदेशका प्रमुख सचिव गोकर्ण मणि दुवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले सरकारको प्राथमिकताहरुलाई पिएलजिएसपीको कार्यक्रममा समेटनु पर्ने बताउनु भयो ।

उहाँले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश सरकारले प्राथमिकतामा राखेको कार्यक्रमहरुलाई कार्यान्वयन गराउने तर्फ उन्मुख हुनु पर्नेमा त्यसको आभाव देखिएको समेत उल्लेख गर्नु भयो । कार्यक्रममा प्रदेश सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का साझेदार संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।