शुभकामना बहुविध र बहुआयामिक पर्व रंगोत्सव अर्थात् होलीको पावन अवसरमा प्रदेश नम्बर २ का बासिन्दासँगै संसारभरका वैदिक सनातन सांस्कृतिक समुदायका दाजुभाइ दिदीबहिनीहरूमा हर्ष, आनन्द र स्फुर्तिका साथ जीवनोन्नयन होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रेम र सद्भावको यो महान् पर्वले समाजमा विद्यमान असमानता, भेदभाव तथा अत्याचारविरुद्ध एकढिक्का भएर सङ्घर्ष गर्ने प्रेरणा दिँदै आएको छ । आपसी सहयोग, सद्भाव र समन्वयले मात्र रूपान्तरण सम्भव छ र यसले नै सामूहिक उत्साह एवं समृद्धिको बाटो प्रशस्त गर्छ भन्ने पर्वको सन्देश पनि हाम्रा लागि अनुकरणीय रहँदै आएको छ । हाम्रा रीतितिथि, परम्परा र लोकव्यवहारहरूमा कृषि संस्कृतिको आवश्यकता र महत्व प्रतिबिम्बन हुँदै आएको छ ।

वृक्षहरूमा नयाँ पालुवा आउने, फुलिरहेका सुन्दर फुलका कारण चारै दिशा सुगन्धित हुने, रैगविरंगी पुतलीहरू उड्ने, कोइलीको मधुर गीतसँगै गहुँ–जौलगायतका बालीहरू लहलहाउने वसन्त ऋतुपछिको यो पर्वको पूर्वसन्ध्याँमा गरिने होलिका दहन वसन्त ऋतुका समयमा पाक्ने नवान्न गहुँ, जौ, चना, केराउका बालाहरूलाई पोल्ने वा भुट्ने कामका लागि प्रयोग हुने शब्द होलकबाट आएको छ । यसअर्थमा नयाँ अन्न हवन गर्ने अवसर नै होलिका हो ।

यसले होली पर्वसँग हाम्रो कृषिकर्मको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको प्रस्ट छ । बदलिँदै गरेको ऋतुचक्रसँगै समाज, प्रकृति एवं ईश्वरका साथ आफैंसँग पनि सुमधुर सम्बन्ध स्थापित गर्ने प्रसन्नता र उल्लासको पर्व होलीका अवसरमा फेरि पनि सुस्वास्थ्य एवं समृद्धिको कामना गर्दछु ।

शैलेन्द्रप्रसाद साह

मन्त्रीभूमि व्यवस्था, कृषि तथा सहकारीप्रदेश २