महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराएका ७ बालिका/किशोरी फेला परेका छन्।

भंगहा नगरपालिकाका मेयर सञ्जीव साहका अनुसार उनीहरू भारतको सीतामढीमा फेला परेका हुन्। अहिले उनीहरूलाई त्यहाँको रेलवे-स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको उनले जानकारी दिए।

मंगलबार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका हुन्।

उनीहरू त्यहाँ के कसरी पुगे, विस्तृत विवरण आउन बाँकी छ।