जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका केही वडाध्यक्ष तथा वडा सदस्यहरुले सोमबार छैटौं नगर सभा बहिष्कार गरेका छन् ।

नगरप्रमुख लालकिशोर साहले निर्णयमा अगाडि नै हस्ताक्षर गराउन खोजेको र बोल्न पनि नदिएकाले नगर सभा बहिष्कार गरेको ७ नम्बरका वडाध्यक्ष जानकीराम साहले बताए ।  नगरप्रमुख साहले हैकम वादी प्रवृत्तिले नगर सभा सञ्चालन गरेको आरोप उनले लगाए ।

वडाध्यक्ष साहले भने, ‘सभा हलमा प्रवेश गर्नुअघि नै निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको र जानकारी लिन खोज्दा हैकम वादी प्रवृति देखाएकोले हामीले नगर सभा बहिष्कार गरेका छौं ।’ नगरप्रमुख साहले बैठक नै नबसाइ छैटौं नगर सभा सम्पन्न गरेको उनले आरोप लगाए ।

वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र साहले नगरसभामा दफाबार छलफल गरी विषयवस्तु पारित गर्ने प्रावधान रहे पनि ती सबै ऐन नियमलाई मिच्दै नगरप्रमुख लालकिशोर साहले एकलौटी गर्न खोज्दा आफूहरुलाई सह्य नभएको बताए । 

उनले भने,‘उपस्थिति र निर्णयमा अगाडि नै हस्ताक्षर गरेपछि छलफलमा जे भए पनि निर्णय त सबैलाई मान्नु नै पर्छ । कसैले आफ्नो फरक मत राखे पनि त्यसले कुनै असर नै पर्दैन । त्यसैले हामीले हस्ताक्षर गरेनौं ।’ 

उनले यो मेयर लालकिशोरको सन्की प्रवृत्ति भएको आरोप लगाउँदै यस्ता राजनीति गर्ने व्यक्तिलाई जनकपुरधामबासीले शरण दिएको जिकिर गरे । यस्तो प्रवृत्तिको नगरबासीले समयमै विरोध नगरे मेयर साहले भोलिको दिनमा नगरपालिकाको लालपुर्जा समेत आफ्नै नाममा बनाउन पछाडि नपर्ने आरोप लगाए । 

वडा नम्बर-१ की वडा सदस्य गंगावती महराले सभाहलमा प्रवेश गर्नुअघि नै आफूलाई निर्णयमा हस्ताक्षर गर्न दबाब दिइएको र आफूले हस्ताक्षर नगर्दा भित्र प्रवेश गर्न नदिएको आरोप लगाइन् । उनले निर्णय बारे विस्तृत बुझ्ने आफ्नो पनि अधिकार रहेकाले जानकारी नदिँदा आफूले हस्ताक्षर नगरेको बताइन् । 

त्यस्तै वडा नम्बर–१ की वडा सदस्य शारदा पन्तले नगरसभामा कुनै सिस्टम नै नरहेको आरोप लगाइन् । उनले उपस्थिति र निर्णय दुवैमा एकैपटक हस्ताक्षर गर्न भनेपछि आफूले पनि हस्ताक्षर नगरी सभा बहिष्कार गरेको बताइन् । नगरसभामा कार्यपालिकाका सबै सदस्यले आफ्नो विचार राख्न पाउने अधिकार रहे पनि नगरप्रमुख साहले कसैलाई केही बोल्न नदिएको र नगरसभामा हैकम वादी प्रवृत्ति देखाएको आरोप लगाइन् ।