हरिद्वार। श्रीपंचायती अखाड़ा निरंजनी पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरिले नेपालको राज्यसत्तामा हाबी रहेको हिन्दू धर्म विरोधी शक्तिलाई हटाउन भारतले सहयोग गर्ने बताउनु भएको छ। हिन्दू विरोधी विदेशी यन्त्र नेपालमा हाबी भएको भन्दै त्यसको विस्थापन अपरिहार्य भएकोले भारतले त्यसमा जस्तो सुकै सहयोग गर्न तयार रहने बताउनु भएको हो।

स्वामी कैलाशानन्दले यसपालीको कुम्भ मेलाको सामुहिक संकल्प नेपालमा राजा सहितको हिन्दू राष्ट्र पुनस्थापना गर्नु भएकोले छिट्टै त्यो सम्भव हुने विश्वास व्यक्त गर्नु भएको छ। सामूहिक संकल्प सहित एकै पटक हजारौं साधु सन्तले गंगामा डुब्की लगाएकोले नेपालमा फेरि राजा सहितको हिन्दू राष्ट्र पुनस्थापना हुने बताउनु भयो।

यसबारे स्वामी कैलाशानन्दको भनाइ पुष्टी गर्दै प्रेस सल्लाहकार सगुन त्यागीले भन्नु भयो, ‘नेपाल नरेश श्री ५ राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवजी र परम पूज्य पाद निरंजन पीठाधीश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरिले एक साथ शाही स्नान गर्नु भयो। गंगा मैयामा दुवै विभूतिले एउटै प्रार्थना साथ डुबकी लगाउनु भयो। त्यो भनेको नेपालको सत्तामा रहेको हिन्दू विरोधी शक्तिको अन्त्य र पुनः राजशाहीको स्थापना होस्, हिन्दू धर्मको स्थापना होस् भन्ने।’