जनकपुरधाम : दैनिक आरोग्य, शीतलता र दीर्घजीवनका लागि घरपरिवारका अग्र सदस्यबाट शिरमा जलसिञ्चित हुने महान पर्व जुडशीतलका अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । मिथिलाञ्चलमा सतुवाइन नामले चिनिने यो पर्व कृषि संस्कृति प्रतिबिम्बन गर्ने अपूर्व रीतिथिति हो । बासी पानीले आफूभन्दा कनिष्ठलाई जुडाउने यो पर्वले उष्णप्रदेशमा शीतलता प्राप्तिको महत्वलाई दर्शाउँछ भने रुखबिरुवामा जलप्रवाह गर्ने प्रक्रियाले वातावरण संरक्षणको सर्वकालीक आवश्यकता बोध गराउँछ ।

हिलोमाटोसँग खेल्ने अनुपम र विशिष्ठ परम्पराबाट यस क्षेत्रका बासिन्दामा माटोप्रति अगाध आस्था रहेको प्रतीत गराउँछ भने मौसमी बालीनाली उत्पादनको प्रचुरता रहेको सन्देश दिनका लागि हालसाल उत्पादित कृषिजन्य सामग्रीबाट उत्पादित परिकार खाने यो पर्वले पोषणका उचित तरिकाबारे समेत हामीलाई अवगत गराउँछ ।

एक दिन चुल्हो बन्द गर्ने र बासी परिकार खाने यो पर्वबाट पर्यावरणप्रतिको हाम्रो परापूर्वकालदखिको सचेततालाई प्रकट गर्छ । जुडशीतलका अवसरमा म लोककल्याणकारी राजा जयवद्र्धन सलहेसलाई स्मरण तथा नमन गर्न चाहन्छु । पाँचौं–छैटौं शताब्दीतिर आफ्नो पराक्रम र सशक्त नेतृत्वबाट अन्याय र अच्याचारविरुद्ध लडेका महान तथा यशस्वी राजा सलहेसको विद्रोही स्वाभाव र न्यायप्रियताले हामीलाई सदैव प्रेरित गरिरहनेछ ।