नविन चौधरी

महोत्तरी : महोत्तरीमा मिटरव्याजीहरुको दादागिरी बेलाबखतमा उजागर भइरहेपनि प्रहरी प्रशासनको उदासिनता र पैसाको चलखेल गरेर मिटरव्याजीहरु गरिबहरुलाई अहिले पनि शोषण गर्दे आएको छ । 
सरकारले विना दर्ताको पैसा लेनदेन गर्न नपाइने भन्दै ऐन कानुन ल्याएको छ तर त्यही कानुनको रखबालाहरुलाई आर्थिक प्रलोभनमा पारेर मिटर व्याजीहरुको कालो धन्दा अहिले पनि जारी नै रहेको छ ।
महोत्तरीको मटिहानी नगरपालिका वाडा नं १ धिरापुरमा अहिले यस्तै मिटर व्याजीको कालो कर्तुत सामुने आएको छ । 

धिरापुर बस्ने तेतरी देवीले करिब ७ बर्ष पहिला गाउँकै एक जना साहु सँग आफनो बच्चाहरुको लालनपालन गर्नका लागि ४० किलो चामल सापटी लिएकी थिइन । साहुले ४० किलो चामल दिए वापत तेतरी सँग एउटा सदा कागजमा हस्ताक्षर गराए ।
पढन लेखन नजानेका तेतरी कस्तो कागजमा हस्ताक्षर गरेको थाहै पाएनन र उनी घर आए । एक बर्ष पछि तेतरी ४० किलो चामलको पैसा साहुलाई दिन जाँदा साहु जगदिश साहले २० हजार रुपैया माँग गरे र तेतरी देवीले जसोतसो रुपैया पनि दिइन । 
२० हजार पैसा पाएपछि साहु जगदिश साहले तेतरीलाई तिमिले मेरो चामलको पैसा दियोै भनेर हस्ताक्षर सादा कागजमा गराउँन लगाए । अनपढ तेतरीले फेरी औंठाछाप गरिदिइन । दिनवित्दै गयो र अहिले ६ बर्ष पछि साहु जगदिश साहले तेतरी माथि ९ लाखको मुदा अदालतमा दिएका छन् ।  

अदालतबाट तेतरीको घरमा कागज पुग्दा तेतरीलाई छाङ्गाबाट खसे जस्तै भयो र उनि गाउँका केही मानिसहरुलाई लिएर साहु जग्दिश साह काहँ पुगिन । 
बेइमान साहु जगदिशलाई मैले ऋण कहिले लिएको भनेर प्रश्र गरे । तर बेइमान महाजन जगदिशले तेतरी र गाउँका मानिसहरुलाई उल्टै थर्काएर पठाए ।
त्यस पश्चात तेतरीले गाउँमै साहु जगदिश माथि पँचायत बसाए र उक्त पँचायतमा एक लाख रकम लिएर जगदिशले मुदा फिर्ता लिने सहमति गरे । 
फेरी तेतरीले जग्दिशलाई १ लाख रकम दिए । तर उनले अदालतमा मुदा फिर्ता लिएनन बरु तेतरीको ३ कठा जग्गा कव्जा गरे । 

अहिले अदालतले समेत तेतरी माथि अन्याय गरेको छ उनी भक्कानिदै भनिन् । उनको सबै घर जग्गा निलाम गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको छ । 
आदेश पाए लगतै बेइमान साहु जगदिश प्रत्येक दिन घर खाली गर्न तेतरी र उनका परिवारलाई गालिगलौज गर्नुका साथै धाकधम्की दिदै आएको छ । 
तेतरी न्यायका लागी ५ दिन पहिला जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेकी थिइन् र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटराईलाई उनले आफु माथि भएको अन्याय सुनाइन । न्याय पाउँने आशले तेतरी जिल्ला प्रशासन कार्यालय महोत्तरी आएपनि अहिले सम्म तेतरीले न्याय पाउँन सकेको छैन ।  उनी ४० किलो चामलकै कारण घर ,जग्गा सबै गुमाएकी छिन । अदालतले समेत सत्यतथ्य नबुभीफैसला गर्दा तेतरीलाई अहिले अदालत माथिको पनि विश्वास हटेको छ । 
आफुहरुलाई हेर्ने अब कोही नभएका कारण यो मुलुक छाडेर भारतमै गएर भिक्षा माँगेर बाँचे पनि त्यही बस्ने उनले रुदै सुनाइन । 

सरकारले प्रत्येक नागरीकलाई गास,बास र कपासको व्यवस्था गरेको दावि गर्दे आइरहेपनि  तेतरी जस्तो गरिबले पेट पाल्नकै लागि घर जग्गा सबै गुमाउँनु परेको छ । अहिले तेतरी एउटै प्रश्न गर्छिन कहाँ छन सरकार ।