काठमाडौँ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउन्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

महामारीमा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरेका छौं, टोलीले त्यस्ता स्थानहरुमा गई कहिले आफै यात्रु बनेर भाडा मोलमोलाइ गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेका छौं, उनले भने ।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने वर्ष ३४ को राम सुरेल पक्राउ परेका हुन् ।

काठमाडौंदेखि झापा मोरङ जाने यात्रुहरुसँग जनही तीन हजारदेखि ४५ सयसम्म भाडा लिने इन्द्रेणी हाइसको काउण्टर र प्रदेश३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आबश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यसरी महामारीमा सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रोक लगाएको भएता पनि विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी बिहीबार प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।