काठमाडौँ :  मित्र राष्ट्र चीनले नेपालमा बढ्ने कोरोना संक्रमण नियन्त्रणका लागि २० हजार अक्सिजन सिलिण्डर प्रदान गर्ने भएको छ । त्यो मध्य पहिलो लटमा ४ सय सिलिण्डर लिन नेपाल वायुसेवा निगमको जहाज सोमबार चीन प्रस्थान गर्दैछ ।
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन लागेको हो ।

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने छ । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डर छ हजार २८८ मात्र रहेको छ भने दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।

बढ्दो कोरोना संक्रमणका कारण अक्सिजनको अभाव हुन थाले पछि चीनले नेपाललाई उक्त सहयोग प्रदान गरेको हो ।
यस अघि चीनले ८ लाख डोज कोरोनाको खोप पनि निशुल्क दिएको थियो भने केही भेन्टिलेटर समेत निशुल्क उपलव्ध गराउदैछ ।