जनकपुरधाम । कोभिड-१९ का संक्रमितले उपचार नपाई ज्यान गुमाउनुपरिरहेका बेला प्रदेश २ का मन्त्रीहरू भने मन्दिर निरीक्षण र घुमघाममा व्यस्त देखिएका छन् ।

प्रदेश २ मा समेत कोभिड-१९ का कारण अवस्था भयावह बन्दै गइरहेको र स्वास्थ्य संकट पैदा भइरहेको समयमा प्रदेश २ का सामाजिक विकास मन्त्री र उद्योगमन्त्री सप्तरीमा मन्दिर निरीक्षणमा व्यस्त देखिएका हुन् ।

बेला प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय बुधबार दलबलसहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न मन्दिर तथा पर्यटकीय स्थलमा घुमफिर गरिरहेका तस्वीर सार्वजनिक भएका हुन् ।
सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमार यादवले मन्त्रीद्वयले मन्दिर घुमफिर गर्दै गरेको व्यस्ततासहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले‚ ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा सप्तरी जिल्लामा विनियोजित विभिन्न कार्यक्रमको मन्त्रीद्वयले संयुक्तरुपमा अनुगमन तथा निरीक्षण’ गरेको व्यहोरा पोस्टमा उल्लेख गरेका छन् ।

मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका हुन् । मन्त्रीद्वयले प्रदेश सरकारका अधुरा योजनाहरु क्रमशः पुरा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोभिड १९ ले भयावह रुप लिईरहँदा प्रदेशका अस्पतालहरुमा आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्री तथा जनशक्तिको अभावका कारण बिरामीको ज्यान बचाउन सकिएको छैन भने कोभिडको जोखिम कम गर्न निशेधाज्ञा समेत लागू गरिएको छ ।