महोत्तरी – महोत्तरीमा एक अशक्त अपाङ्ग युवतीलाई बलात्कार गरिएको छ । बलात्कारको घटना सार्वजनिक भएपश्चात गाउँका केहि अगुवाहरुले घटनालाई गाउँमा मिलाउन पीडित परिवारलाई दबाब दिरहेको छ । यद्यपी पीडित परिवारजनले नमाने पछि आरोपी फरार भएक छन् ।
महोत्तरीको बलवा नगरपालिका वडा नं. ११ की शारीरिक र मानसिक रुप मै अस्वस्थ रहेकी (पुणर् अशक्त, हातखुटटा बांगो भएको तथा हिडडुल गर्न असमर्थ र बोल्न पनि नसक्ने) एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी सोहि ठाउँ बस्ने (बल्वा नगरपालिका वडा नं. ११) निकाल टोल बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेषले वैशाख २६ गते बलात्कार गरे ।
घटना बारे कुरा बाहिर आएपछि अहिले गाउँमा पीडित परिवारजनलाई गाउँ मै घटना मिलाउन दबाब सृजना गरिन थालेको छ । उनिहरु आफ्नो परिवार असुरक्षित भएको र न्यायको लागि पत्रकार, मानवअधिकारकर्मीहरुसंग गुहार मागिरहेका छन् ।

 घटना विश्लेषण 

बलात्कारका आरोपी शेष पेशाले ट्रयाक्टर चालक हुन् । ट्रयाक्रबाट सामान ढुवानीको काम गर्छन् । उसले कोरोना महामारीको दोश्रो लहर संगै महोत्तरीमा वैशाख २१ गते मध्यराती देखि निषेधाज्ञा सुरु भएपछि छरछिमेक कै अन्नबाली ओसारपसार गर्थे । सोहि क्रममा पीडित परिवारले विक्री गर्न ठीक पारेको गहुँ पनि उसले बजारसम्म पुर्‍याए । त्यसवापतको ढुवानी भाडा लिन शेष वैशाख २६ गते दिउँसो ४ बजे पीडितको घरमा पुगे । त्यति बेला घरमा अरु कोहि थिएन । बोल्न र हिँडडुल गर्न नसक्ने २० वर्षीया युवती मात्रै थिइन् । घर कोहि नभएको र युवतीलाई एक्लै देखेर उसको नियत खराब भयो । शेषले युवतीलाई बलात्कार गरे र घर फर्किए ।

साँझमा युवतीको बुवा आमा घर फर्कंदा छोरी छटपटाउँदै रोइरहेको भेटाए । अनि बुझ्दा युवती आफ्नी आमालाई दिउँसो कोही व्यक्ति आएर आफू संग गरेको अपराध बारे हातको इसाराले बताउन र बुझाउन खोजिन् । त्यो रात त्यसै कट्यो ।
भोलिपल्ट वैशाख २७ गते शेष ढुवानीको भाडा लिन पुन उसको घर पुगे । त्यही बेला पीडित युवतीले शेष तिर इशारा गर्दै उसले आफू संग गरेको दुष्कर्म बारे आमालाई बताउन थालिन् । ‘उसकै अगाडि बलात्कार गरेको बेला उसले के कसो गरेको थियो, कस्तो लुगा लगाएको थियो भन्ने हाउभाउ सहित छोरीले सुनाइन्,’ आमाले भनिन् ।शेषले स्विकारेनन् । बरु पोल खुल्ने डरले त्यहाबाट तुरुन्तै फरार भए ।
छोरीको कुरा पीडित बुवा आमाले बुझे। आमाले छोरीको बोलीचालीको सांकेतिक भाषामा घटनाबारे दोहोर्‍याइतेहर्‍याइ सोधिन् । छोरीले रुदै असह्य हुने गरी दुःख दिएको बारम्बार भनि रहेपछि उनिहरुले न्यायको लागि छरछिमेकलाई सुनाए । आरोपीलाई पक्राउ गर्न हारगुहार गरे । तर छिमेकी केहि अगुवाहरुले सहयोग गर्नुको साटो समाजको इज्जतको सवाल उठाउँदै गाउँ मै घटना मिलाउन र ढाकछोप गर्न सुझाव दिए । अगुवाहरुको कुरा पीडित परिवारजनलाई मन परेन ।
घटना बारे कुरा विस्तारै बाहिर आएपछि केही अधिकारकर्मीले न्यायको लागि प्रहरी प्रशासनमा जान पीडित परिवारलाई आँट र भरोसा दिए ।
यसरी घटनाको तीन दिन वितिसेको थियो । पीडित परिवारजन छोरीलाई बोकेर वैशाख २९ गते करिब २ घण्टाको टेम्पो यात्रा गरेर न्याय माग्न महोत्तरीको सदरमुकाम जलेश्वर स्थित जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेर जाहेरी दिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले फरार दोषीको खोजी कार्य भइरहेको बताए । ‘गाउँमा छलफल भइसकेपछि मात्रै हामीकहाँ जानकारी गराएका रहेछन्, ढिला जानकारी प्राप्त हुँदा दोषी फरार रहेको छ’ उनले भने, ‘पक्राउ गरेपछि अनुसन्धान हुन्छ, बलात्कारजस्तो अपराध त्यसमाथि अपांगता भएको व्यक्तिलाई भएकाले संवेदनशील भएर लागेका छौं ।’

पीडित युवतीको स्वास्थ्य जाँच जलेश्वर अस्पतालमा सोहि दिन (वैशाख २९गते) गरिएको छ ।
सामान्य खेतीपाती गरेर जीविका चलाइरहेका पीडितका बाबुआमालाई बारम्बार जिल्ला धाइरहने र प्रमाण जुटाउने खर्च जुटाउन गाह््रो भएको बताउँछन् ।
उनीहरुले आफ्नो छोरीलाई सुरक्षित राख्न नसक्ने भन्दै संरक्षणका लागि सहयोग मागेका छन् । ‘हाम्रो छोरीलाई त्यस्तो बनाउने मान्छेलाई चाँडोभन्दा चाँडो पक्राउ गर्नुपर्‍यो, हदैसम्मको कारबाही हुनुपर्‍यो,’ पीडितका बुवाले भने । उनका चार छोरीमध्ये तीनको विवाह भइसकेको छ । एक छोरा अन्यत्रै बस्छन् ।
घटनाबारे जानकार ओरेक संस्थाको महोत्तरी जिल्ला कार्यक्रम अधिकृत लीला दियालीले पीडित पक्षलाई समाजका अगुवाहरुले आर्थिक प्रलोभनमा पारेर घटना गाउँमै मिलाउन धम्काइरहेको बताइन् । ‘पीडितको बाबुआमा ६० वर्ष जतिको हुनुहुँदो रहेछ, बुढेसकालमा आफैंलाई साहरा चाहिएको बेला छोरीमाथि त्यस्तो भएपछि झनै समस्यामा पर्नुभएको छ,’ उनले भनिन्, ‘गाउँमा यसै सामसुम पारिदिने हो भने भोलि अरू छोरीहरु झनै असुरक्षित हुन्छन्, यसमा प्रहरी र सरोकारवालाले व्यापक रूपमा लाग्नुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले ज्यादै अमानविय घटना भएको बताउदै प्रहरीले जानकारी पाउनासाथ अभियुक्तको खोज तलास र घटनाको अनुसन्धान थालिसकेको बताए । उनले युवतीको घाउ जाँच लगायतका विभिन्न प्रकृयाहरु पुरा गरिसकेको र पिडितको तर्फबाट जाहेरी समेत आईसकेको बताउदै चाडै आरोपी पक्राउ पर्ने बताए ।
हाल ओरेक नेपालले पिडितलाई मनोपरामर्श दिइरहेको छ भने उनलाई आवश्यक पर्ने सवै सहयोग गर्ने समेत दियालीले बताएको छ । घटनामा गाउमै केस मिलाउन विभिन्न राजनितिक र पहुचवालाहरु लागि परेको समेत कुराहरु आईरहेकोमा अशक्त युवतीसंग भएको यस्तो जघन्य अपराध अक्षम्य भएको बताउदै दियालीले वोरेकले गम्भिर रुपमा घटनालाई नियाली रहेको र पिडितको लागि लडाई लड्ने वताईन् ।