जनकपुरधाम (मधेश टप): प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अक्सिजन उद्योगमा उत्पादनको अवस्थाबारे जानकारी लिएका छन्।

No description available.

अक्सिजनको अभाव भइरहेका बेला कानूनमन्त्री यादवले धनुषाको मिथिला नगरपालिका लालभितिमा सञ्चालित ढल्केवर अक्सिजन उद्योगमा अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा उद्योग सञ्चालक मुन्ना सर्राफले दैनिक चार सय सिलिण्डर अक्सिजन उत्पादन भइरहेको जानकारी गराएपछि मन्त्री यादवले अधीकतम क्षमतामा उत्पादन गर्न निर्देशन दिए।

No description available.

कोरोना उपचारका लागि मुलुकभर अक्सिजनको अभाव भएको बताउँदै मन्त्री यादब जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन उत्पादन र वितरण सहज बनाउन सरकार लागि परेको जानकारी दिए।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले हरेक उपायसहित उपचार सहज बनाउनेतर्फ ध्यान दिएको बताउँदै मन्त्री यादवले संक्रमित हुनेको संख्या अधिक हुँदा बेड र अक्सिजन अभाव भएको बताए।

मन्त्री यादवले अक्सिजन अभावको समस्या केही दिन भित्र समाधान हुनेगरी काम भइरहेको दाबी समेत गरे। हाल चार वटा अक्सिजन उद्योग सञ्चालनको तयारीमा रहेकाले केही दिनपछि प्रदेशमा अक्सिजनको समस्या नरहने मन्त्री यादवले जानकारी गराए।

उनले अक्सिजन अभाव हुन नदिन प्रदेश सरकर लागिरहेको बताउँदै समस्या परेका नागरिकलाई सरकारले सञ्चालनमा ल्याएको हट लाइनमा फोन गर्न तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह समेत गरे।

अक्सिजनको समस्या समाधानका लागि सबैको पहल र सहयोग आवश्यक रहेको बताउँदै उनले आफू पनि समस्या समाधानका लागि फिल्डमै खटिएको बताए।