काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा भंग गर्दै नयाँ चुनावको मिति तोकेपछि आगामी रणनीतिबारे छलफल गर्न सर्वदलीय बैठक बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा शनिबार बिहान ११ बजेदेखि सर्वदलीय बैठक सुरु हुने नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी हुने महतले बताए। सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए। त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन्।