काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले गरिएको कथित चुनावको घोषणा जालझेल भएको बताएका छन् ।

उनले यो ब्यवस्था नै कू गर्ने अग्रसरताको रुपमा लिएको टिप्पणी गरेका छन् ।शुक्रबार मध्यरातमा भएको प्रतिनिधिसभा बिघटनपछि नेता नेपालले लेखेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ ।

प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।

यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।

यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’