जनकपुरधाम, जेठ ९ (मधेश टप):
नेपाल पत्रकार महासंघ धनुषाका पूर्वसभापति माधव आचार्यको निधन भएको छ । जन्मस्थल सिन्धुली रहेको आचार्यको काठमाडौंस्थित निवासमा शनिबार ८० वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेको परिवारका सदस्यले जानकारी दिए । धनुषामा रहेर पाँच दशक लामो पत्रकारिता गरेका आचार्य जिल्लाबाट निरन्तर रुपमा प्रकाशति हुँदै आएको जनआकांक्षा साप्ताहिकका सम्पादक एवं प्रकाशक थिए ।

नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्रको पक्षमा कमल चलाए बापत कैयन पटक जेल भोगेका आचार्यलाई पछिल्लो पटक क्यान्सरले च्यापेपछि देश तथा विदेशमा समेत उपचार गराएका थिए । त्यसपछि चिकित्सकको परामर्शमा घरमा नै औषधि सेवन गर्दै उपचार गरिरहेका थिए ।

महासंघ धनुषाका पूर्वसभापति आचार्यको निधनप्रति नेपाल पत्रकार महासंघ प्रादेशिक समितिका प्रदेश २ का अध्यक्ष राजेश कर्ण तथा धनुषा जिल्ला  अध्यक्ष मनिका झाले श्रद्धाञ्जली अर्पण गर्दै अभिभावक गुमाएको बताएका छन् ।

उनको हिजो नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यका श्रीमती र तीन छोरा छन् ।