कपिलवस्तु (मधेश टप): कपिलवस्तुमा गोली प्रहार गरिएका नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीका अनुसार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा उनको सोमबार साँझ निधन भएको हो ।

गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा पाण्डेमाथि गोली हानिएको थियाे । गोली लागेर पाण्डेसहित दुईजना घाइते भएका थिए । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएका  थिए ।

पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले जसपाका जिल्ला नेतालाई जेठ ८ गते पक्रेको थियाे । कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी भण्डारीले रातोपाटीलाई बताए । ओमप्रकाश जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला समिति सदस्य हुन् । उनीसँगै प्रहरीले ३३ वर्षीय साकिर अलि पाखियालाई पनि पक्राउ गरेको छ ।