बारा । बाराको बलिरामपुर नाका हुँदै रक्सीको तस्करी शुरु भएको छ । स्थानीय एक व्यक्तिले दिनहुँ नेपालबाट भारततर्फ रक्सी तस्करी गरिरहेका छन । प्रहरी चौकी बलिरामपुर र सशस्त्र प्रहरीको फरवार्ड बेसलाई प्रभावमा पारेर स्थानीय ती व्यक्तिले रक्सीको तस्करी शुरु गरेका हुन ।

बलिरामपुरका शशी शर्माले रातिको समयमा साईकल र मोटरसाइकलमा सस्तोदेखी महंगो मुल्यपर्ने रक्सी भारततर्फ तस्करी गर्ने गरेको स्रोतले जनाएको छ ।बलिरामपुर चौकमा शशी बोस नामले चिनिन खोज्ने शर्माले सशस्त्र र नेपाल प्रहरीका साथै भारतीय सुरक्षाकर्मीलाई समेत आर्थिक प्रलोभनमा पारेर रक्सीको तस्करी गर्ने गरेको स्थानीय एक व्यक्तिले जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका दुईजना प्रहरी निरीक्षकसंग आर्थिक लेनदेन गरेर राम्रो सम्बन्ध बनाएका शर्माले प्रहरी चौकी बलिरामपुरका प्रमुख प्रहरी सहायक निरीक्षकलाई आदेश गर्न लगाई आर्थिक प्रलोभनमा पार्न लगाएका छन् । बिश्रामपुर गाउपालिका-४ बलिरामपुरमा दशगजा क्षेत्रबाट करिब डेढ/ दुईसय मिटर नजिकै ॐ साई ट्रेडर्स नामको रक्सी पसलको अनुमती लिएका शर्माले रातको समयमा दिनहुँ ठूलो परिमाणमा रक्सी अबैध रुपमा भारततर्फ तस्करी गर्ने गरेका छन ।

शर्माले आर्थिक सहयोग गर्नुका साथै समय समयमा नेपाली र भारतीय सुरक्षाकर्मीलाई रक्सीको बोतल समेत दिने गरेका छन । जिल्ला प्रहरी कार्यालयका दुईजना प्रहरी निरीक्षकहरुलाई समय समयमा बलिरामपुर स्थित आफ्नो घरमा बोलाएर शर्माले रक्सी पार्टी समेत खुवाउने गरेका छन । राती आठ बजेपछि शर्माले बलिरामपुर र भारतको सहदेवाका युवाहरुलाईपरिचालन गरेर साइकल र मोटरसाइकलमा रक्सीको कार्टुन भारततर्फ पठाउने गरेका छन । राती आठबजेदेखी एकबजे सम्म शर्माको घरमा रहेको गोदामबाट भारततर्फ रक्सीको तस्करी हुने गरेको स्थानीय एकजना प्रत्यक्षदर्शीले बताएका छन ।