काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए ।

यसैबीच सरकारले देशभरी निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ ।

विकशित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।

निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था अनुरुप कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको उनले जानकारी दिए ।