बारा, जेठ १३ (मधेश टप): 

बारामा निषेधाज्ञाको मौका छोपी तेल ट्यांकरमा लुकाएर गाँजा तस्करी गर्ने ट्यांकर चालक र सहचालक सवा २ क्विन्टल गाँजासहित पक्राउ परेका छन् ।

प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले उनीहरूलाई जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित मोहमद आलम साहको रामरहिम ग्यारेजमा ट्यांकरभित्र लुकाएर राखिएको गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्यांकर चालक महोत्तरी बर्दिवास नगरपालिका–८ बस्ने घनश्याम गिरि तथा सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडी छन् ।

उनीहरूले काठमाडौँबाट भारतको बरौनीमा तेल जाने क्रममा ना ४ ख २९७९ नम्बरको खाली ट्यांकरमा गाँजा तस्कर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले खाली तेल ट्यांकर चेकजाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र रातो प्लास्टिकमा पोका बनाई राखेको २ क्विन्टल १८ केजी गाँजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।