जनकपुर १४ जेष्ठ (मधेश टप): धनुषामा गाउँ मै मिलाउन खोजेको सामुहिक बलात्कार घटनामा प्रहरीले हस्तक्षेप गरेपछि मुद्दा दर्ता गरिएको छ ।
धनुषाको सबैला नगरपालिकामा एक १७ वर्षीया बालिकालाई सामुहिक बलात्कार प्रयास भएको घटनालाई स्थानीय केहि नेताहरुले गाउँ मै मिलाउन खोजेको घटनालाई प्रहरीले हस्तक्षेप गरेपछि मुद्दा दर्ता भएको छ ।

सवैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने तीन जना युवाहरुको समूहले बालिकालाई बलात्कार प्रयास गर्दै भिडियो समेत खिचेको पीडित बालिकाले जनाएकी छिन् ।

पीडित बालिकाका परिवारजनले इलाका प्रहरी कार्यालय सवैलामा जेठ १३ गते आरोपित तीन युवा विरुद्ध उजुरी दर्ता गराएका छन् ।
जेठ १२ गते दिउँसो खेत गएकी बालिकालाई गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले बलात्कार प्रयास गरेको पीडितले बताईन् ।

घटना लगत्तै आरोपित तिनै जना युवाहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सवैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए ।

प्रेस मञ्च प्रदेश २ का कार्यवाहक अध्यक्ष समेत रहेको सबैलाका स्थानीय बासिन्दा सुरेश यादवको अनुसार घटना पश्चात पीडित परिवारलाई गाउँमै मिल्नको लागि दबाब स्थानीय केहि नेताहरुले दिँदै आएको थियो ।

अध्यक्ष यादवले भने, ‘पीडित पक्षलाई स्थानीय केहि नेताहरुले मिल्नको लागि दवाव दिएर पञ्चायत बसाएको थाह पाएपछि मैले नै प्रहरीलाई खबर गरे । प्रहरीले जानकारी पाए लगतै पञ्चायत मै प्रहरीको टोली पुगेर हस्तक्षेप गरे ।’

प्रहरी टोलीले पीडित बालिकाको परिवारजनलाई इलाका प्रहरी कार्यालय सवैला लगेर किटानी जाहेरी दर्ता गराउनुको साथै बालिकाको स्वास्थ्य परिक्षण समेत गराएको छ।

घटना बारे अनुसन्धान भईरहेको र फरार आरोपीको तदारुकताका साथ खोजतलास भईरहेको इप्रका सवैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए ।