ललितपुर । ललितपुरको लामाटारमा रहेको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

आर्थिक संकटको कारण देखाउँदै अभिभावकलाई बिहीबार राति इमेलमार्फत् विद्यालय पूर्ण रुपमा बन्द गर्न लागिएको जानकारी दिइएको छ ।विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले सोमबार आर्थिक संकटका कारण विद्यालय पूर्ण रुपमा बन्द गर्ने निणय भएको अभिभावलाई जानकारी गराएकी थिइन् । जानकारी प्राप्त भएसँगै अभिभावकले भर्चुअल बैठकमार्फत आफूले सकेको सहयोग गर्ने तर, विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।

तर, विद्यालयले भने उहीँ आर्थिक संकट देखाउदै सदाका लागि विद्यालय बन्द गर्ने अन्तिम निर्णय भएको बताएको थियो ।
विद्यालयले अभिभावकले शुल्क नतिरेका कारण आर्थिक संकट परेको जनाएको छ ।

विद्यालयका अनुसार त्यहीँ कारण अब विद्यालय सञ्चालन गर्न कुनै पनि अवस्था रहेको छैन ।तर, अभिभावकले भने मासिक शुल्क तिरिरहेको र बस तथा खाजा शुल्कमा तिर्न बाँकी रहेको बताएको छ । यद्यपि, कोरोना संक्रमणका कारण सबै ठप्प भएका कारण तिर्न नसकिएको तर, कोरोनाकालपछि उक्त रकम तिर्ने अभिभावकहरुले भनेका छन् ।विद्यालय बन्द नगर्न अभिभावकले पटक पटक अनुनय गरे पनि विद्यालयले आफ्नो निर्णयबाट पछि हटेको छैन ।

केवल आर्थिक संकटमात्र देखाएर विद्यालय बन्द गर्ने भनेको छ ।एक अभिभावकका अनुसार बिहीबार राति इमेलमा बन्द हुन लागेको विद्यालय इमाडोलमा रहेको न्यू मिलिनियमसँग मर्ज गर्ने सम्झौता भएको छ । र, उक्त विद्यालयमै विद्यार्थी पढाउन विद्यालयको आग्रह रहेको छ ।तर, विद्यालयको यस्तो निर्णयले आफूहरु मारमा पर्ने भन्दै अभिभावकहरुले विद्यालय बन्द नगर्न आग्रह गरिरहेको छ ।

तर, आर्थिक संकटका कारण विद्यालय कुनै पनि अवस्थामा चलाउनै नसकिने अवस्थामा पुगिएको विद्यालयले जनाएको छ ।बालबच्चाका लागि अध्ययनका लागि उपत्यकाको उत्कृष्ठ र सुविधा सम्पन्न विद्यालयमा पर्ने शुभतारा स्कुलमा कक्षा एकदेखि १० कक्षासम्म अध्यापन हुँदै आएको थियो । विद्यालयमा जम्मा ३६५ जना विद्यार्थीहरु अध्ययनरत थिए ।