मधेश टप डेस्क,

हेटौंडा । नेपाल ट्रेड यूनियन (जिफन्ट) मकवानपुरका सदस्य ललित राईलाई नगद २० हजार सहयोग गरिएको छ ।

जिफन्टमा आवद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (शिवम् सिमेन्ट उद्योग)को कार्यसमितिले सदस्य राईलाई (कोभिड-१९) संक्रमणको जोखिममा समस्या परेको भन्दै नगद २० हजार सहयोग गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को कारण निषेधामा आफ्नो सदस्यहरुलाई परेको समस्या समाधान गर्ने क्रममा राईलाई पनि सहयोग गरिएको समग्र उद्योग ट्रेड यूनियन नेपाल (शिवम् सिमेन्ट उद्योग) का अध्यक्ष शम्भु लामाले बताए । उनले कोरोनाको कारण निषेधाज्ञामा समस्यामा परेका मजदुरहरुलाई आफुहरु सहयोग गर्न तयार रहेको समेत बताए । उनले कार्यसमितिबाट संकलन गरिएको रकम सहयोग गरिएको बताए ।

आज जिफन्ट मकवानपुरको कार्यलयमा एक कार्यक्रम गर्दै समग्र उद्योग ट्रेड यूनियन नेपाल (शिवम् सिमेन्ट उद्योग) का अध्यक्ष लामा र उपाध्यक्ष विजेश वाशुकलाले संयुक्त रुपमा जिफन्ट हेटौंडा नगर अध्यक्ष राजु आर्चायलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा जिफन्टमा आवद्ध क्यूपेक–नेपाल जिल्ला प्रतिनिधि देवी दाहाल लगाएत जिफन्ट मकवानपुरका सदस्यहरुको सहभागिता रहेको थियो ।