मधेश टप डेस्क,

जनकपुरधाम : प्रदेश नं.-२ मा चुरे र तिनका नदी प्रणालीबाट अवैज्ञानिक, अवैध र अनुचित तवरबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन भइरहँदा यस क्षेत्रको परिस्थतिकीय प्रणालीमा प्रतिकूल असर पर्ने सबैलाई विदितै छ ।

बस्ती तथा पूर्वाधार विकास, वनविनाश, खोरिया फँडानी, चरिचरण जस्ता गर्नै नहुने काम केही दशकयता चुरेक्षेत्रमा तीव्र गतिले भइरहेका छन् । जसको दुष्परिणामका रूपमा चुरे मुहान भएका खोलानालामा पानीको प्रवाह देखिँदैन ।

चुरे दोहन र वनजंगल बिनाशबाट तराईमा सिधासिधै असर खोलाहरू खहरे भएका छन् । बर्खा र बाढीका बेला उर्लेर आउने भेल(जसमा चुरे भत्केर आएका ढुंगा, गिट्टी र बालुवा हुन्छन्) बाट सयौं हेक्टर खेतीयोग्य जग्गा बलौटे बन्न पुग्छ । मरुभूमिकरणको यो त्रासद दिनानुदिन बढ्दै गएको छ । खोलाहरू चौडा भएका छन् । तिनको सतह अग्लिँदै किनारका खेतभन्दा पनि माथि पुगेको छन् ।

तराई मधेसका जिल्लाको खाँडोमा आउने भेलबाट बस्ती तथा खेत डुबान हुने दुर्नियति यसको दुर्भाग्यपूर्ण उदाहरण हो । चुरेविनाशबाट उत्पन्न जलवायु परिवर्तन र जैविक विविधतामा ह्रास आउँदा तराई मधेशमा एकातिर कृषि तथा खाद्य सुरक्षा संकटमा पर्दै गएको छ ।

भने अर्कोतिर जलवायुजन्य विपदबाट यस क्षेत्रका जनता वर्षौंदेखि पिरोलिँदै आएका छन् । ठूलो संख्यामा जनताको आजीविका र रोजगारको कारक र देशकै कुल ग्राहस्थ उत्पादनमा अन्य क्षेत्रभन्दा बढी योगदान पुर्याउने कृषि क्षेत्रसमेतलाई जोगाउन कुनै पनि संवेदनशील क्षेत्र वा प्रणालीबाट ढुंगा, गिट्टी र वालुवाको दोहन गरियो । भने यसको सिधा असर तराई मधेसका आम जनसमुदाय पर्ने जानेछ ।