गौशाला, जेठ २२

मधेश टप: पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पुनः बढाएको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको जनाएको छ ।

यसअघि निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।

मूल्य समायोजन पछि पछि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको भनाइ छ ।