जनकपुरधाम २३ जेष्ठ 

मधेश टप : उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले शपथ लगतै दिएको विवास्पद अभिव्यक्ति चर्को विरोधपछि सच्याएका छन् । नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको विवादस्पद अभिव्यक्तिको चौतर्फी विरोधपछि शनिबार राति मन्त्री महतोले विज्ञप्ती निकालेका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार गरिएको दाबी समेत गरेका छन् ।
महतोले आफू नेपालको राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका हुन् ।

‘हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’

उनले यो संविधानप्रति रहेका आफ्ना असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उल्लेख गरेका छन् ।

No photo description available.